काठमाण्डौ,६ फागुन । नेपाली कांग्रेसको महासमिति बैठक भोली सोमबारदेखि सुरू हुँदैछ।
सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम छ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठक तयारी अन्तिम चरणमा पुगेको वताए । उनका अनुसार – ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन्।महासमिति बैठकले कांग्रेसले लिने नीति तय गर्नेछ।
महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुने विश्वकर्माले जानकारी गराए ।










प्रतिक्रिया दिनुहोस्