शैक्षिक

एसईई परीक्षा आजदेखि, ५ लाखबढी परीक्षार्थी सहभागी हुँदै



काठमाडौँ, १५ चैत । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ ।

यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् ।

परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र तोकिएका छन् ।

यस वर्ष जापानमा पनि एक परीक्षा केन्द्र तोकिएको छ । जहाँबाट २३ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।