राजनीति

स्वास्थ्य मन्त्रालयद्वारा दश दिनभित्र बेरुजु फर्छ्यौट विवरण बुझाउन निर्देशन



काठमाडौँ, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दश दिनभित्र बेरुजु फर्छ्यौटको विवरण बुझाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

यसअघि फागुन ३ गते पत्राचार गर्दा विवरण प्राप्त नभएको भन्दै मन्त्रालयले सबै विभाग, प्रतिष्ठान, अस्पताल तथा अस्पताल विकास समितिलाई यस्तो निर्देशन दिएको हो । 

विवरणमा बेरुजु फर्छ्यौट कार्ययोजना, बेरुजु वर्गीकरणको विवरण, बेरुजु रकमको विवरण र फर्छ्यौटको हालसम्मको प्रगति समेत समावेश गर्न पत्रमा उल्लेख छ । तोकिएको मितिमा विवरण पेस नगरे कोष तथा लेखा नियन्त्रण कार्यालयमा अनुरोधमा गरी भुक्तानी निकासा रोक्ने मन्त्रालयले चेतावनी दिएको छ ।