राजनीति

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन



काठमाडौँ, ५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बेलुका सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण गरेका छन् ।

प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मङ्गलबार अपराह्न काठमाडौं तीनधारा पाठशालाबाट सुरू भएर साँझ असन पुर्याइएको थियो । राष्ट्रपति पौडेल मंगलबार बेलुका असन पुगेर सेतो मच्छिन्द्रनाथको दर्शन गरेका हुन् । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

विशेषत वर्षा र सहकालको कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू हुन्छ । सो रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न सुरु हुन्छ ।

चैत ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ ।