शैक्षिक

कक्षा १२ को परीक्षा केन्द्र स्वचालित प्रक्रियाबाट तोकियो



काठमाडौँ, ७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा परीक्षा केन्द्र तोक्नको लागि विभिन्न चलखेल हुने गुनासो आएपछि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले काठमाडौंका १४४ परीक्षा केन्द्र स्वचालित विधिबाट छानेको हो । काठमाडौंका ५१३ विद्यालयका नियमिततर्फ ५९ हजार १६७ र आंशिकतर्फ ५ हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयका विद्यार्थी फरक सेन्टरमा छरिएर राख्ने गरी सफ्टवेयरबाटै केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

परीक्षा केन्द्र निर्धारण गरिएको अर्को आधार आफ्नै विद्यालयमा केन्द्र नहुने, दुई विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्कामा पर्न नहुने, एकै स्वामित्व र व्यवस्थापनको भनी पहिचान भएका केन्द्रमा नपर्ने बनाइएको परीक्षा बोर्डले जनाएको छ ।