समाचार

अस्पताललाई डायलाइसिस मेसिन प्रदान



काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।  

नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई डायलाइसिस सेवा सहज बनाउन मेसिन प्रदान गरेको हो । अस्पताललाई ‘विपन्न नागरिक उपचार सेवा’ कार्यक्रमअन्तर्गत सूचीकृत गर्न  पहल भइरहेको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डिबी क्षेत्रीले जानकारी दिए । 

स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाबाट सूचीकृत हुन बाँकी रहेकाले आंशिकरुपमा डायलाइसिस सेवा सञ्चालन गर्दै आएको उनले  बताए । अस्पतालमा रहेका तीन थान डायलाइसिस मेसिनसहित अब पाँच वटा भएकाले चौबिस जना बिरामीलाई उपचार दिन सकिने डा क्षेत्रीले बताए ।