काठमाडौँ, १७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले विभिन्न पार्टीको तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट प्रतिनिधि निर्वाचन गर्ने निर्देशिका पारित गरेको हो ।
निर्देशिकाले राष्ट्रिय महाधिवेशनको प्रतिनिधि निर्वाचित गर्दा कम्तिमा एक तिहाई महिलासहित विविधता प्रतिविम्वित हुने गरी विभिन्न जातिय/सामाजिक समूहहरुबाट समावेशी हुने गरी निर्वाचन गर्ने प्रावधान राखेको छ । स्वच्छ, निष्पक्ष तथा पारदर्शी ढङ्गले प्रतिनिधि निर्वाचन गराउन आवश्यकता अनुसार केन्द्रीय निर्वाचन तदर्थ समिति र प्रदेशमा प्रदेश निर्वाचन तदर्थ समिति गठन गरिने भएको छ । प्रतिनिधि छनौट भएपश्चात जेठ १५ गतेसम्म सङ्गठन विभागले अभिलेखीकरण गर्ने र केन्द्रीय निर्वाचन समितिले अन्तिम नामावली सूचि प्रकाशन गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्