Banner News

जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो : राष्ट्रपति पौडेल



काठमाडौँ, २२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताएका छन् । 

राष्ट्रपति पौडेलले राष्ट्रिय सूचना आयोगको १७ औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि महत्त्वपूर्ण माध्यमको रूपमा रहेको सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । उनले सूचनाको हकले नागरिकको सशक्तीकरण मात्र होइन सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने  बताए । साथै  सरकारले गरेका काम, कारबाहीबारे जनतालाई सुसूचित पनि गराउने उनले बताए। 

उनले भने “लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जबाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक हो । विकास निर्माणमा नेपाली जनताको अर्थपूर्ण सहभागिता लोकतन्त्र सुदृढीकरणका लागि अत्यन्त आवश्यक छ, यसका लागि पारदर्शिता नै मुख्य विषय हो, जुन सूचनाको हकले नै प्रत्याभूत गर्नेछ ।”