काठमाडौँ, २२ वैशाख । बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । हरेक वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल बढ्नुका साथै खेती गर्न सहज हुने भएकाले कृषकको आकर्षण बढ्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
बसाइँसराइले गाउँ रित्तिँदै गएपछि पहिले कोदो, मकै, गहुँलगायत अन्नबाली फल्ने बारीमा अहिले सुन्तलाखेती गर्न थालिएको छ । कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने भएकाले कृषक सुन्तलाखेतीप्रति आकर्षित भएका केन्द्रका सूचना अधिकारी कुमार पुनले बताए ।
कृषि ज्ञान केन्द्रका अनुसार विसं २०७६ मा पाँच सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा हालसम्म आउँदा उक्त क्षेक्रफल बढेर छ सय १८ हेक्टर पुगेको छ । चार वर्षको अवधिमा ३३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती बिस्तार भएको छ ।
बागलुङमा सुन्तला उत्पादन राम्रो हुने र बजार पनि सहजरुपमा पाउने भएकाले खेती बिस्तार हुँदै गएको पुनको भनाइ छ । जिल्लामा काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुने उनले जानकारी दिए ।
भौगोलिक बनावट र हावापानीअनुसार १० वटै पालिकामा धेरै वा थोरै सुन्तला उत्पादन हुने गरेको सूचना अधिकारी पुनले बताए । अघिल्लो वर्षको तुलनामा यस वर्ष ४५ मेट्रिकटन सुन्तला उत्पादन कम भएको उनले जानकारी दिए । सूचना अधिकारी पुनका अनुसार अघिल्लो वर्ष जिल्लामा तीन हजार नौ ८५ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष तीन हजार नौ ४० मेट्रिकटन मात्रै उत्पादन भएको छ । गत वर्ष रु २० करोड बढीको सुन्तला बिक्री भएकामा यस वर्ष रु १८ करोडको मात्रै उत्पादन भएको छ । बागलुङमा सुन्तला व्यवस्थापनमा किसानले ध्यान नदिँदा उत्पादनमा ह्रास आएको पुनले बताए । कृषि ज्ञान केन्द्रले सुन्तलाखेती गर्ने किसानलाई आवश्यक अनुदानसँगै बगैँचा व्यवस्थापन र प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ । मल, जल र बगैँचा व्यवस्थापनम कृषकले ध्यान दिए बागलुङमा धेरै मात्रामा सुन्तला उत्पादन गर्न सकिने सूचना अधिकारी पुनले बताए ।
प्रतिक्रिया दिनुहोस्