काठमाडौँ, १५ असार । नेपाल कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारको काम शीघ्र अघि बढाउन माग गर्दै पैदल यात्रा भएको छ ।
कलङ्कीबाट सुरु भएको यात्रा चक्रपथको कलङ्की–सीतापाइला–स्वयम्भू–बालाजु–सामाखुसी– वसुन्धरा हुँदै धोविखोला पुग्दै छ ।
सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्न परेको भन्दै विरोध स्वरूप पैदलयात्रा गरिएको हो । सरकारले चक्रपथ विस्तारका लागि ६ वर्ष अघि धमाधम रुख काटेर नयाँ लेन बनाउने भनिए पनि सो काम अलपत्र छ ।
सडक विस्तार गर्ने भनेर सडक छेउमा पर्ने मठ मन्दिर, बस बिसौनी भत्काइए, फुटपाथ हटाइए तर ती सबै ठाउँ अहिले आहाल, भग्नावशेष र फोहोर थुपार्ने स्थल बनेका छन् । २ वर्षभित्र सक्ने गरी कलङ्की– वसुन्धरा सडक विस्तार गर्ने सम्झौता नेपाल र चीनबिच भएको भए पनि अहिले यी ठाउँहरू विरूप र कुरूप बनेका छन् ।
नेपाल सरकार र चीन सरकारले २०१८ जनवरी १७ मा सम्झौता गरी काम अघि बढाउने सहमति भएको भए पनि सडक विस्तार परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बनेको छैन ।
नेपाल र चिनियाँ सरकारबिच भएको द्विपक्षीय सम्झौतामा नेपालले गर्नुपर्ने काम भइसकेपछि मात्रै चिनियाँ पक्षले निर्माण सुरु गर्ने उल्लेख छ । सम्झौतामा साइट क्लियरेन्स, ढल, विद्युत्को पोल सार्ने, तारको व्यवस्थापन लगायतका कार्य सम्पन्न गर्नुपर्ने दायित्व नेपाल पक्षको छ ।










प्रतिक्रिया दिनुहोस्