राजनीति

जनताले अस्वीकार गरेकाले शासन गर्ने व्यवस्था अन्त्य गर्नुपर्छ : महासचिव पोखरेल



काठमाडौँ, २९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले अस्वीकार गरेकाहरुले शासन गर्ने व्यवस्था अब सधैंका लागि अन्त्य गर्नुपर्ने बताएका छन् ।

आज ललितपुरमा आयोजित मानव अधिकार एलाइन्सको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले साना-साना दलले सत्ताका सौदा बाजीका लागि जनताका भावनामाथि खेलवाड गर्ने परम्परा सधैंका लागि अन्त्य हुनुपर्ने धारणा राखेका हुन् । उनले प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त हुने भएपछि शुक्रबार संसदमा छट्पटी देखिएको दाबी गरे । उनले कमजोर दलले देश र सरकार चलाउँदा अस्थिरता देखिएकाले दुई ठूला दल मिल्नुपरेको बताए ।  

महासचिव पोखरेलले भने, ‘जनताले अस्वीकार गरेकाहरुले शासन गर्ने व्यवस्था अब सधैंका लागि अन्त्य गर्नुपर्छ । साना-साना दलले सत्ताका सौदा बाजीका लागि जनताका भावनामाथि खेलवाड गर्ने परम्परा सधैंका लागि अन्त्य हुनुपर्छ । त्यो दिशामा जानका लागि दुई ठूला पार्टी मिलेका छौं । मिसन ८४ मा हामी एक्लै एक्लै लड्ने छन्, साना दलसँग गठबन्धन गर्ने छैनन् । जनतामा आशा जगाउन मिलेका हौं । तर, ८४ पछाडि कांग्रेस र एमालेमध्ये एउटा सत्तामा एउटा प्रतिपक्षमा हुनेछ । सत्तामा जान साना दलले गर्ने सौदाबाजी अन्त्य हुनेछ ।’

महासचिव पोखरेलले राज्यलाई बलियो बनाउन राजनीतिक दल बलियो बनाउनुपर्ने धारणा राखे। राजनीतिक अस्थिरताबाट देश बन्न नसक्ने बताउँदै पोखरेलले अस्थिरतालाई जनताले अस्वीकार गरेर स्थिरता र समृद्धिका पक्षमा लाग्नुपर्ने प्रष्ट पारे ।