काठमाडौँ, ३० असार । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले शैक्षिकसत्र २०८१ का लागि क्यालेन्डर स्वीकृत गरेको छ ।
रेक्टर खड्ग केसीका अनुसार परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था क्यालेन्डरमा गरिएको छ । सेमेस्टर र वार्षिक प्रणालीअन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमको क्यालेन्डर कार्यान्वयनका लागि अध्ययन संस्थान, संकाय, आंगिक क्याम्पस, केन्द्रीय विभागहरूमा पठाइएको रेक्टर कार्यालयले जनाएको छ ।
विश्वविद्यालय अनुदान आयोगले गत असारमा सबै विश्वविद्यालयलाई एकीकृत शैक्षिक क्यालेन्डर तयारी गरी कार्यान्वयनका लागि पठाएको थियो । भर्ना, पठनपाठन, परीक्षा र नतिजा प्रकाशनको कार्यतालिका विश्वविद्यालयपिच्छे फरकफरक भएर उच्च शिक्षामा भद्रगोल देखिएपछि आयोगले क्यालेन्डर प्रस्ताव गरेको थियो । विश्वविद्यालयले आफ्नो अनुकूल हुने गरी क्यालेन्डर लागू गर्न सक्ने आयोगले जनाएको थियो ।
मुलुकभर १२ वटा संघीय विश्वविद्यालय, तिनले सम्बन्धन दिएका क्याम्पससहित प्रादेशिक विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी करिब १५ सय उच्च शिक्षा प्रदायक शिक्षण संस्था सञ्चालनमा छन्, जहाँ ५ लाखभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।
प्रतिक्रिया दिनुहोस्