पेन्सिलभानिया, ३० असार । अमेरिकी राष्ट्रपति पदका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्यालीमा शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) गोली चलेको छ ।
पेन्सीलभानियाको बटलरमा भएको र्यालीमा गोली चले पनि पूर्वराष्ट्रपति ट्रम्प सकुशल भएको बताइएको छ । उनी मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ ।
उनको कान र अनुहारमा रगत देखिएको बताइए पनि रिपब्लिकन पार्टीको चुनावी अभियानले उनी सुरक्षित भएको जनाएको छ । घटनास्थलमा एकजनाको शव भेटिएको जनाइएको छ । सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारेमा थप जानकारी भइसकेको छैन । यद्यपि, अनुसन्धान भइरहेको बताइएको छ ।
राष्ट्रपति जो बाइडेनलाई घटनाको बारेमा तत्कालै ब्रिफिङ गरिएको थियो । उनी त्यसबेला डेलाभरमा थिए । बाइडेनले अमेरिकामा यस खालको हिंसाका लागि कुनै स्थान नभएको बताउँदै यस्ता घटनाको निन्दा गर्न सम्पूर्ण देश एकताबद्ध हुनुपर्ने बताएका छन् । उनले एक वक्तव्य जारी गरी ट्रम्प सुरक्षित भएकोमा सेक्रेट सर्भिसको कामप्रति आभार समेत व्यक्त गरेका छन् ।
यस्तै, पूर्वसभामुख नान्सी पेलोसीले पनि घटनाको निन्दा गर्दै ट्रम्प सकुशल रहेकोमा भगवानलाई धन्यवाद भनेकी छन् । अमेरिकाका विभिन्न राजनीतिक नेताबाट घटनाको निन्दा गर्ने क्रम जारी छ ।बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले पनि सो घटनाबाट आफू स्तब्ध भएको बताउँदै घटनाको निन्दा गरेका छन् । बीबीसी
प्रतिक्रिया दिनुहोस्