समाचार

 बाढीपहिरो र चट्याङबाट मानवीय क्षति धेरै



काठमाडौँ, ५ साउन । नेपालमा मनसुन सुरु भएको एक महिनामा मनसुनजन्य विपद् (मुख्यगरी बाढीपहिरो र चट्याङ)का घटना तथा मानवीय क्षति धेरै भएको भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था प्रतिवेदनअनुसार गत वर्षभन्दा यस वर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा बढीले बाढी, पहिरो, चट्याङ तथा भारी वर्षका घटना वृद्धि भएको हो । मानवीय क्षति पनि उल्लेख्य वृद्धि भएको पाइएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार गत वर्ष यो अवधिमा ती विपद्का ४५१ वटा घटना भएको थियो । यसपालि भने ६९१ वटा घटना भएको पाइएको छ । जसमा गत वर्ष ४२ जनाको मृत्यु भएकामा यसपालि सो अवधिमा ६९ जनाले ज्यान गुमाएका छन् ।

गत वर्ष बेपत्ता २५ जना रहेकामा यसवर्ष उक्त अवधिमा तीनजना बेपत्ता रहेका छन् । गत वर्ष ५६ जना घाइते भएकामा यसपालि ८९ जना घाइते भएका जनाइएको छ ।