काठमाडौँ, ६ साउन । बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थी नेपाल फर्किन थालेका छन् ।
आजमात्रै १७ जना विद्यार्थी नेपाल फर्किन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीका अनुसार परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन लागिएको हो ।
प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् । बंगलादेशमा कति जना नेपाली विद्यार्थी छन् भन्ने यकिन नभए पनि सबै सुरक्षित रहेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।
सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलन भड्किएपछि केही दिनदेखि बंगलादेश अशान्त छ । देशभर कर्फ्यु आदेश जारी भए पनि ठाउँठाउँमा झडप भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्