मकवानपुर, ७ साउन । बागमतीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र लुम्बिनीमा एमाले संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ ।
केन्द्रको भागबन्डाअनुसार वाग्मती सरकारको नेतृत्व कांग्रेसले पाएको छ । नुवाकोट–२ (१) बाट निर्वाचित कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा वाग्मतीमा एमालेसहितको सरकार गठन हुने भएको छ ।
वाग्मतीमा नयाँ सरकार गठनको दाबी पेस गर्न कांग्रेस–एमालेले आफ्ना सांसदको हस्ताक्षर संकलन गरिसकेका छन् । उनीहरूले सोमबार नै दाबी पेस गर्ने तयारी गरेका छन् । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री कांग्रेसको समर्थनमा सोमबार बुटवलस्थित प्रदेश प्रमुखसमक्ष गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार बनाउन बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका २७ र एमालेका २९ गरी ५६ सांसद छन् । प्रदेश प्रमुख कार्यालयले सोमबार साँझ साढे ६ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको छ ।










प्रतिक्रिया दिनुहोस्