काठमाडौँ, ७ साउन । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का कर्मचारी युनियन प्रतिनिधिहरूले संस्थाबाहिरका व्यक्तिलाई सरकारले प्रबन्ध निर्देशक नियुक्त गरे टेलिकमको ढोका बन्द गर्ने चेतावनी दिएका छन् । भद्रकालीस्थित टेलिकम प्रांगणमा आइतबार आयोजित नेपाल टेलिकम वर्कर्स युनियनको ३३औं वार्षिकोत्सव कार्यक्रममा कर्मचारीहरूले संस्थामा योग्य व्यक्ति छँदाछँदै बाहिरका व्यक्तिलाई नेतृत्व सुम्पने तयारी गरिएको भन्दै त्यसको चर्को आलोचना गरे ।
नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा दोषी ठहर भई टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक (एमडी) सुनील पौडेल जेल गएपछि ६ महिनायता टेलिकम निमित्तको भरमा चल्दै आएको छ । अघिल्लो सरकारकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अगुवाइमा टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाइए पनि सरकार परिवर्तनसँगै अन्तिम निर्णय हुन सकेको छैन । नवगठित सरकारले यसअघि रोकिएको प्रक्रियालाई नै सदर गर्छ वा त्यसलाई खारेज गरेर नयाँ प्रक्रिया अघि बढाउँछ भन्नेमा अन्योल छ ।
कर्मचारीहरूले यथाशक्य चाँडो एमडी नियुक्त हुनुपर्ने माग राख्दै आएका छन् । ‘यो संस्था बुझेको, संस्थाबारे जानकार प्रबन्ध निर्देशक आउनुपर्छ भन्ने हाम्रो माग हो,’ युनियनका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद जोशीले भने, ‘यसअघि हामीले नचाहँदा–नचाहँदै बाहिरको मान्छे एमडी बनेर आउँदा कति हैरानी भयो, संस्थाका धेरैजनाले अख्तियारसमेत धाउनुपर्यो । त्यसकारण यसपालि बाहिरबाट आउने एमडी हामीलाई स्वीकार्य हुँदैन, बाहिरको मान्छे आएमा ढोका बन्द हुन्छ । अनैतिक तरिकाले आउने मानिस आइनस्टाइन नै भए पनि स्वीकार्य हुँदैन ।’
संस्था बाहिरको व्यक्ति परीक्षण भएर असफल भइसकेको र त्यही प्रवृत्ति नदोहोर्याउन युनियनका तेजबहादुर शाहीले सरकारसँग आग्रह गरे । वर्कर्स युनियन केन्द्रीय समिति सल्लाहकार मनिल ओझाले पनि यसअघि सुनील पौडेल नियुक्त हुँदा कर्मचारीमा निराशा छाएको बताए । यसपटक एमडीका लागि आवेदन दिएका संस्थाभित्रका दुई दर्जन कर्मचारीले पनि आफूहरूले योग्य छौं भनेर सरकारसमक्ष दाबी पेस गर्नुपर्ने ओझाको भनाइ छ । ‘एमडीलाई आवेदन दिने १६ मध्ये १२ जना टेलिकमभित्रकै मान्छे प्रतिस्पर्धी हुनुहुन्छ, उहाँहरूले सञ्चारमन्त्री, प्रधानमन्त्री, छनोट समितिका संयोजकहरूलाई भेटेर हामी सक्षम छौं भन्न सक्नुपर्छ,’ ओझाले भने ।
कर्मचारी युनियन (एनटीसीडब्लूयू) का अध्यक्ष सुरेशप्रसाद रौनियारले पनि संस्थाभित्रकै व्यक्ति एमडी हुनुपर्ने धारणा राखे । दुई महिनादेखि नतिजा रोकेर राखेको, संस्थाको कामकाज अस्तव्यस्त भएको, वर्षौंदेखि हुलाकी राजमार्गको ठेक्का प्रक्रिया अघि नबढाएकोलगायत विषयमा उनले असन्तुष्टि व्यक्त गरे ।
‘विश्वका कतिपय देशले सिक्सजी परीक्षण र छिमेकी देश भारतमा फाइजी सेवा विस्तार तीव्र गतिमा अघि बढिरहेका बेला हामी भने अझै पनि फोरजी प्रविधि विस्तारमै संघर्ष गरिरहेका छौं,’ एनटीएसीडब्लूयू वाग्मती प्रादेशिक समितिका अध्यक्ष विनोद घिमिरेले भने, ‘यहाँ केन्द्रीय कार्यालयभित्रै फोन नलाग्ने समस्या छ । नमस्ते वाइफाईको माग देशैभर छ । तर नेटवर्क नै नभएपछि ग्राहकले कसरी चलाउने ? व्यवस्थापनले यसमा विचार पुर्याउनुपर्छ ।’ टेलिकमले प्रदान गरिरहेको एफटीटीएच फाइबर र मोबाइल दुवै सेवामा प्रशस्त सुधार गर्नुपर्ने केन्द्रीय समितिकै सहअध्यक्ष लालबहादुर रानाले बताए ।
युनियनका सल्लाहकार राजेन्द्रप्रसाद दाहालले लापरबाहीपूर्वक अद्यावधिक नगरीकनै बिलिङ प्रणालीसम्बन्धी वर्षौं पुरानो टेन्डर जारी गरिएकोमा टेलिकम नेतृत्वको कडा आलोचना गरे । ‘कान्तिपुर पढ्दा हामीलाई थाहा भयो कि टेलिकमले चार वर्ष पुरानो डलर मूल्य राखेर ठेक्का चार पटकसम्म जारी गर्दै आएको रहेछ,’ उनले प्रश्न गरे, ‘यो हास्यास्पद ठेक्कामा यही ब्रह्माण्डका मान्छेले भाग लिन्छन् भनेर जारी गरिएको हो कि एलियनहरूले आएर बुझाउँछन् भन्ने सोचिएको हो ?’ कान्तिपुर










प्रतिक्रिया दिनुहोस्