काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँगको कूटनीतिक संयन्त्रबाट समाधान गर्ने बताएका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सोधेको प्रश्नको जवाफ दिँदै नेपाल–भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनर्स्थापनाको काम भइरहेको जानकारी दिए ।
उनले भने, ‘नेपालको संविधानको २०७७ असार ३ मा भएको दोस्रो संशोधनमार्फत नयाँ नक्सा समेटी संविधानको अनुसूची–३ मा राखिएको तथा सीमासम्बन्धी विषयमा हामीबिच अभूतपूर्व राष्ट्रिय सहमति रहेको छ । सुगौली सन्धि, १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत काली (महाकाली) नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा नेपाल सरकार दृढ र स्पष्ट रहेको छ,’ ।
उनले उच्चस्तरीय भ्रमणहरूका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबिच भएको भेटवार्तामा समेत सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत समाधान गर्ने गरी अगाडि बढ्ने समझदारी भएको बताए ।










प्रतिक्रिया दिनुहोस्