काठमाडौँ, ८ साउन । काठमाडौँ महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरु गर्ने भएको छ ।
हालै ढलमा पोलियो भाइरस भेटिएपछि महानगरपालिकाले यही साउन ९ गतेबाट विशेष पोलियो खोप अभियान सुरु गर्ने भएको हो । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन महानगरले जनाएको छ ।
महानगरका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीसहितको टोलीले घर घरमा गएर पोलियो थोपा खुवाउने छ । पोलियो खोप ६, १० र १४ हप्ता गरी तीन पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन) खुवाइन्छ । यस्तै १४ हप्ता र नौ महिनाको उमेरमा सुइबाट पोलियो खोप दिइन्छ ।
प्रतिक्रिया दिनुहोस्