काठमाडौँ, ९ साउन । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत् लाइन जडान गरेको छ ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले विभिन्न ६ उद्योगमा बिजुलीको लाइन जडान गर्ने निर्णय गरेसँगै मंगलबार साँझ ८ बजेदेखि विद्युत् जडान भएको हो । प्राधिकरणले तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी सञ्चालक समितिको बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो ।
उद्योगहरूले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटेको थियो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उद्योगीको लाइन जोडेर बाँकी समस्या वार्ता र छलफलद्वारा समाधान गर्न निर्देशन दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्