Banner News

संघीयताविरूद्ध कुरा आएपछि संविधान संशोधनको बहस चलेको हुनुपर्छ : सभामुख घिमिरे



१० साउन, हेटौंडा । सभामुख देवराज घिमिरेले संघीयताविरूद्ध आवाज उठिरहेकाले संविधान संशोधनको बहस चलेको हुन सक्ने बताएका छन् ।

आज हेटौंडामा युवा सीप वर्ष २०८१ अन्तर्गत सञ्चालित निःशुल्क सीप विकास तालिमहरूको प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयता आवश्यक नभएको, यसले आर्थिक भार बढाएको लगायत नकारात्मक टिकाटिप्पणी भइरहेका बेला सरकार परिवर्तन हुँदा संविधान संशोधनको विषय उठेको हुन सक्ने बताए ।

उनले भने, ‘तर अहिले त्यता जाने बेला भएको छैन । यो विषयमा अहिले म केही भन्दिन´ । उनले देशमा युवालाई ठीक ढंगले प्रयोग गर्नुपर्ने बताए । चुनौतीको सामना गर्दै त्यसलाई अवसरमा बदल्न सक्ने युवा शक्ति आवश्यक रहेको भन्दै उनले संसारमा भएका परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

गणतन्त्रपछिका सरकारले युवाको क्षेत्रमा अपेक्षित काम गर्न नसकेको पनि उनको भनाइ छ ।