काठमाडौँ, ११ साउन । नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ ।
परिषदमा नेपालसँगै पोल्यान्ड र कोष्टारिका पनि उपाध्यक्ष निर्वाचित भएका छन् । पूर्वी युरोपेली देशबाट पोल्यान्ड र ल्याटिन अमेरिकी एवं क्यारेबियन मुलुकहरूबाट कोष्टारिका चुनिएको संयुक्त राष्ट्रसंघीय सूचना केन्द्रले जनाएको छ । परिषद्को अध्यक्षमा क्यानडा निर्वाचित भएको छ । केन्द्रका अनुसार अफ्रिकी देशहरूबाट निकट भविष्यमा उपाध्यक्ष चयन गरिनेछ । ५४ सदस्यीय इकोसकमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन् । आगामी वर्ष नेपाल एसिया–प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ ।
अघिल्लो वर्षको जुनमा एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरी सन् २०२४–२०२६ का लागि नेपाल परिषद्को सदस्य निर्वाचित भएको थियो । सामाजिक–आर्थिक विकासका माध्यमबाट समृद्धि हासिल गर्ने उद्देश्यले राष्टसंघको वडापत्रअनुसार सन् १९४५ मा परिषद् स्थापना भएको हो ।










प्रतिक्रिया दिनुहोस्