समाचार

पहिरोमा पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु



काठमाडौँ, ११ साउन । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी  सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो । 

बिहीबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो ।

तर, सोही घरको अर्को कोठामा रहेका श्रीमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगंगा–६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए ।