अर्थ

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी



काठमाडौँ, १२ साउन । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको हो । उक्त परिमाणको यार्सागुम्बा निकासीबाट रु १६ लाख ५७ हजार पाँच सय राजस्व सङ्कलन भएको उनले बताए । यार्सा निकासीका लागि प्रतिकिलो रु ५१ हजार दस्तुर लिने गरिएको छ । निकासी गरिएको दस्तुर रु ५१ हजारमध्येबाट रु १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा रु १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ । 

मनाङमा यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको थियो । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन गरिन्छ ।