समाचार

काठमाडौँ उपत्यकामा घट्यो सवारी दुर्घटना



काठमाडौँ, १२ साउन । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ मा १० हजार सात सय ३३ सवारी दुर्घटना हुँदा १९१ जनाको मृत्यु भएको थियो । आव २०७९/८० मा १० हजार छ सय ७५ दुर्घटना हुँदा १८७ को मृत्यु र गत आर्थिक वर्ष २०८०/८१ मा आठ हजार आठ सय ८१ सवारी दुर्घटना हुँदा १७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार गत आवमा १२९ पुरुष र ४८ महिलाको मृत्यु भएको थियो ।

जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा सडक दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दुर्घटना सङ्ख्या १६.८ र मृत्यु हुनेमा छ प्रतिशतले कमी आएको उनले जानकारी दिए ।

ट्राफिक प्रहरीले मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने विरुद्धको अभियान, लेन अनुशासन पालना, लापरबाहीका साथ सवारी चलाउने र तीव्रगतिका कारणले हुने दुर्घटना न्यूनीकरणमा अभियान प्रभावकारी बनेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने १० लाख जना भन्दा बढीलाई ट्राफिक प्रहरीले कारबाही गरी जरिवाना बापत ७२ करोड ६० लाख रुपैयाँ सङ्कलन गरेको छ ।