अर्थ

परिसूचक नेप्से २०.६३ अंकले घट्यो



काठमाडौँ, १४ साउन । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ ।

सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको छ ।

कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७३५ अंकसम्म पुगेको थियो । त्यसपछि उतारचढावका क्रममा दुई पटक २७०० अंक नाघे पनि माथि बजार टिक्न सकेन ।

बजार घट्दा कारोबार रकम भने उच्च भएको छ । १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो ।

फाइनान्स ५६ तथा हाइड्रोपावर समूह २६ अंक बढे भने अरु सबै घटे । बैंकिङ ०.६, विकास बैंक १४२, होटल तथा पर्यटन १९, जीवन बीमा २५२, उत्पादन १३७, माइक्रोफाइनान्स २०६, निर्जीवन बीमा १४०, अन्य ०.५६ र व्यापार १७६ अंक घटे ।