भक्तपुर, १८ साउन । भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुर जुनसुकै बेला जलमग्न हुन सक्ने भएकोले उच्च सतर्कता अपनाएको बताउनुभएको छ ।
शुक्रबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको “प्राकृतिक प्रकोप र पुर्बतयारी“ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै श्रेष्ठले भक्तपुर जिल्लाभरका चारवटै स्थानीय तहहरूमा विपदको उच्च जोखिम रहेकोले प्रशासनले उच्च सतर्कता अपनाइरहेको बताउनुभयो । विशेष गरि असार देखि भदौ सम्म वर्षेनी बाढीले भक्तपुर डुबानमा पर्ने भएकोले जोखिम न्यूनीकरणको लागि सेना, प्रहरी तथा प्रशासनलाई उच्च सतर्कता अपनाउन लगाइएको बताउनुभयो । उहाँले भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकालाई डुबानको अति जोखिम क्षेत्र र चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको माथिल्लो भेगलाई पहिरोको जोखिम क्षेत्र भनेर पहिचान गरिएको समेत बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति पर्शुराम पाण्डेले जिल्लामा कुनैपनि बेला हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरि विपदको उद्धारका लागि रेडक्रसका २४ उपशाखाहरू चौबीसै घण्टा सक्रिय राखिएको बताउनुभयो । यो विपदको समयमा धेरै जना बिरामी पर्ने अवस्था रहेकोले उहाँले स्वस्थ व्यक्तिले रक्तदान गर्नसमेत अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक भगवान खत्रीले विपद प्रतिकार्य कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षको सूर्यविनायक नगरपालिकाले मात्र ९० लाख बजेट बिनियोजन गरेको जानकारी दिनुभएको थियो ।
त्यस्तै चाँगुनारायण नगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक दिनेश थापाले बर्खाको समयमा हुनेगरेका बिपदका घटनालाई उच्च प्राथमिकताका साथ हेरेको र तत्काल उद्धार कार्यमा जुट्ने गरेको बताउनुभयो ।
नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले सञ्चालन गर्नुभएको कार्यक्रममा पत्रकार रमेश गिरीले विपदबारे बिषय उठान गर्नुभएको थियो भने विपद विज्ञ डा. दीपकविक्रम थापा, रामहरि केसी लगायतले विपद्का विविध विषयमाथि चर्चा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्