समाचार

आजदेखि स्वयम्भूमा एक महिने मेला



काठमाडौँ, २१ साउन । स्वयम्भूमा आजदेखि एक महिनासम्म जारी रहने मेलाको सुरु हुने भएको छ ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका निम्ति आउने भक्तजनको संख्या बढ्ने अपेक्षा गरेको छ । 

प्राचीन सम्पदास्थलका चैत्य र विभिन्न भाग मर्मत एवं जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको संख्या बढ्ने अपेक्षा गरिएको हो ।  

महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको र सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताए । थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।


गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेलाअवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।