अर्थ

नारायणी नदी तटबन्धनमा बजेट अभाव



काठमाडौँ, २२ साउन । नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको रु ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो ।

गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार गत वर्षको भुक्तानी गर्नुपर्ने रु एक अर्ब १३ करोड ६४ लाखमध्ये रु ५७ करोड भुक्तानी गरिएको छ । पेश्कीसहित हिसाब मिलान गर्दा गत वर्षको रु ४० करोडभन्दा बढी काम गरेको भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिए ।

आयोजना सबै सम्पन्न गर्न रु तीन अर्ब ९५ करोड खर्च हुन्छ । हालसम्म रु दुई अर्ब भुक्तानी गरिएको छ । तटबन्ध गरिएका आयोजनाले चितवनमा नारायणी नदी तटबन्धका लागि लगाएका पाँच ठेक्कामध्ये दुईवटा सम्पन्न भएका छन् । तीमध्ये एउटा पूरै भुक्तानी गरिएको छभने अर्को एउटाको भुक्तानी दिन बाँकी छ । नवलपरासीतर्फ छवटा ठेक्कामध्ये एउटा सम्पन्न भएको छ । यसै आयोजनाले काम गरेको कयरखोलाको दुईवटा ठेक्का सम्पन्न भए पनि भुक्तानी बाँकी छ ।