राजनीति

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्छ : अध्यक्ष नेपाल



काठमाडौँ, २४ साउन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । 

अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन् । 

उनले भनेका छन्, ‘देशमा पछिल्लो समय हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो छ, तर उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार र स्रोतको अभावले उडान चुनौतीपूर्ण हुने गरेको सम्बद्ध क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन, दुर्घटनाको जोखिम कम गर्न तथा देशको आकाशलाई सुरक्षित बनाउन सम्बन्धित निकायलाई गम्भीर हुन आवश्यक छ ।’

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो ।