काठमाडौँ, २७ साउन । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तारागाउँ विकास समिति सरकारलाई बोझ बनेको बताएका छन् ।
आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति तथा पर्यटन समितिको बैठकमा नेपालले तारागाउँको नाममा विभिन्न जिल्लामा जग्गा र होटल/रेष्टुरेण्टहरु रहेको भन्दै उनले तिनको राम्रोसँग सदुपयोग नभएको बताएका हुन् ।
तारागाउँ विकास समितिबाट सन्चालित ककनीको रिसोर्टमा आफू पनि बसेको जानकारी दिँदै उनले भने, ‘व्यवस्थापन अत्यन्तै खतम छ ।’
तारा गाउँ विकास समितिको नाममा रहेका जग्गा र रिसोर्टहरु सदुपयोग भइरहेको छ कि दुरुपयोग भइरहेको छ भनेर जानकारी लिनुपर्ने र दीर्घकालसम्म सोचेर व्यवस्थित बनाउनुपर्ने उनले बताए । राम्रोसँग सन्चालन गर्न निजी क्षेत्रलाई पनि दिन सकिने नेता नेपालको भनाइ छ ।
‘जग्गा छ, भवन छ । व्यवस्थापन कस्तो छ ? कति जग्गा व्यापारिक परियोजनमा प्रयोग गर्ने गरिएको छ ? कति त्यसको निम्ति मिहिनेत गरिएको छ ?’ नेपालले भने, ‘यस्ता कुराहरुको अलि लामो समयको कुरा सोचेर व्यवस्थापनका लागि प्राइभेटलाई दिने हो भने प्राइभेटलाई दिनुपर्यो । यो बोझको रुपमा रहनु भएन ।’
प्रतिक्रिया दिनुहोस्