काठमाडौँ, २९ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक टुङ्गो लगाउने ढिलाइ गर्न नहुने गराएका छन् ।
आज बेपत्ता परिवार समाज नेपाल र केही पीडित वर्गहरूले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई टीआरसी विधेयकमा गर्नुपर्ने सुधारका काम बारे जानकारी गराएका छन् ।
सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयकमा केही असन्तुष्टिहरू रहेको भन्दै १४ वटा बुँदासहितको सुधार गर्न पूर्व प्रधानमन्त्री प्रचण्डलाई सुझाइएको हो । सोही क्रममा उनले पीडितहरूको पीडा, चासोलाई सम्बोधन गर्ने सबै कोसिस गर्ने भन्दै पत्रमा रहेका सबै विषयलाई गम्भीर भएको हेर्ने बताए ।
प्रचण्डले भने, ‘टीआरसीको पूर्व सन्ध्यामा तपाईँहरूले यो पत्र बुझाउनु भएको छ । यसबारेमा राजनीतिक दलहरूसँग बसेर कुरा गर्छु । तपाईँहरूको पीडा, चासोलाई सम्बोधन गर्ने सबै उपाय हुन्छ । त्यो कोसिस हुन्छ । तपाईँहरूले बुझ्नु भएको छ- यो विधेयक सबै ठिक त होइन, केही कमी त छ । भोली सदनमा बोल्ने क्रममा पनि यी विषयहरू सम्बोधन हुने काम हुन्छ ।’
प्रचण्डले धेरै लामो समयपछि यो विधेयक संसद्मा दर्ता भएको उल्लेख गर्दै छिट्टै पारित हुने बताए । उनले भने, ‘हामीले बल्ल बल्ल यो विधेयकलाई यो ठाउँमा ल्याएका छौँ, यसमा कतिपय कुरा परिमार्जन गर्न त पर्छ नै तर पनि यसले धेरै हदसम्म पीडितलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यसलाई सकेसम्म सुधार गरेर लाने छौ तर अब यसलाई धेरै ढिला गर्नुहुँदैन ।’
प्रतिक्रिया दिनुहोस्