अर्थ

सहकारी ठगीमा लामिछानेमाथि तत्काल अनुसन्धान गर्नुपर्छ : महामन्त्री थापा



काठमाडौँ, ३० साउन । कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी रकम अपचलनमा संलग्न देखिएका भनिएका रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् । 

कांग्रेस प्रमुख प्रतिपक्षमा छँदा प्रमुख सचेतकको भूमिकामा रहेका लेखकले तथ्य प्रमाण नै देखाएर कारबाही गर्नुपर्ने माग उठाएको स्मरण गराउँदै थापाले अहिले गृहमन्त्रीको भूमिकामा पुगेपछि लेखकले तीनै तथ्य प्रमाणका आधारमा अनुसन्धानमा ल्याउन माग गरेका हुन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोलेका थापाले जतिसुकै शक्तिशाली भए पनि लामिछानेसहित सहकारीका ठगहरूलाई अनुसन्धानको दायरामा ल्याएर सरकारले ‘आफू को हुँ’ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने बताए ।

‘२०८० चैत ६ मा पोखरा महानगरपालिकाले सूर्यदर्शन सहकारीको बारेमा गरेको अध्ययनले नामै किटेर रवि लामिछानेले १ करोड रकम जम्मा गरेको देखायो । यस्तो रकम थुप्रै जम्मा भएको कारणले गर्दा पीडितले पोखरामा जाहेरी दिन गए । प्रहरीले जाहेरी पनि लियो । त्यो बेला पुरानै जाहेरी भएकाले पूरक जाहेरी भनिदियो । पछि लामछिाने गृहमन्त्री भएपछि त यो जाहेरी नै होइन भनिदियो,’ सांसद थापाले थपे, ‘त्यसबेला रमेश लेखकले यहाँ उभिएर यो प्रमाणको आधारमा गृह मन्त्रालयले तत्काल अनुसन्धान गर्नुपर्छ भन्नुभएको थियो । जो जतिसुकै शक्तिशाली होस्, म को हुँ भनेर सरकारले प्रमाणित गरेर देखाओस् । सहकारी ठगलाई अनुसन्धान गर्नैपर्छ ।’

एमाले–कांग्रेसको नयाँ सत्ता समीकरण बनेपछि सहकारी रकम अपचलन, नक्कली भुटानी शरणार्थी, गिरीबन्धु टी इस्टेटलगायतका मुद्दामा कांग्रेस महामन्त्रीहरू प्रतिरक्षात्मक भएको टिप्पणी आइरहेका बेला थापाले आफू प्रतिपक्ष र सत्तापक्ष जता भए पनि कुरा नफेर्ने बताए । थापाले थपे, ‘सरकार फेरियो, कुरा फेरिन्छ ? फेरिन्न । हामी सत्ता र प्रतिपक्ष जता बस्दा पनि फरक कुरा गर्दैनौं । सत्तामा बस्दै गर्दा गिरीबन्धु देख्दै नदेख्ने, डेडिकेटेड ट्रंक लाइन देख्दै नदेख्ने, सहकारी ठग्ने नदेख्ने ? हामी उता बस्दा पनि यता बस्दा पनि त्यहीँ हो ।’