काठमाडौँ, ३० साउन । रौतहटको सदरमुकाम गौरमा धारिलो हतियार प्रयोग गरी एक जना वृद्धको हत्या गरिएको छ ।
प्रहरीका अनुसार गौर नगरपालिका ५ कोइरी टोलका ७४ वर्षीय अनुरुद महतोको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।
गएराति खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घर देखि २०० मिटर पर धानको खेतमा आज बिहान साढे ८ बजे भेटिएको हो । स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।
घटनाको खबर लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको हो । गौर स्थित झोलुङ्गे पुलको दक्षिण पट्टी धानको खेतमा भेटिएको मृतक अनुरूध महतोको पेटमा धारिलो हतियार प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ ।
मृतक महतो लागूऔषध गाँजा प्रयोग गर्ने मानिस भएकाले घटना गर्ने लागू औषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । घटनामा संलग्न हालसम्म कोही पक्राउ पर्न नसकेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्