काठमाडौँ, ३२ साउन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधका बिचौलिया बेचन झाविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ कसुरमा मुद्दा दायर भएको छ । प्रहरी परिसर काठमाडौंको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले झाविरुद्ध राज्यविरुद्धको अपराधसहित ठगी, किर्ते र संगठित अपराधको अभियोगमा बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
शरणार्थी प्रकरणमै २०८० जेठ १० मा जिल्ला सरकारी कार्यालय काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा सुरक्षा सल्लाहकार इन्द्रजित, थापाका छोरा प्रतीकसहित ३० जनाविरुद्ध राज्यविरुद्धको अपराधसहितका कसुरमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुँदा प्रतिवादीमध्येका १८ जना पक्राउ र १२ जना फरार थिए ।
पक्राउ परेका मध्येका दुई पूर्वमन्त्री रायमाझी र खाँणसहित १६ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार र २ जनालाई धरौटीमा रिहा गरेको थियो । पक्राउ परेका सबैले जिल्लाको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । त्यसमध्ये पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डेसहितका ७ जनालाई पुर्पक्षमै पठाउन आदेश दिएको थियो । बाँकी ११ मध्ये केहीलाई साधारण तारिख तथा पूर्वगृहमन्त्री खाँणसहितका केही अभियुक्त धरौटीमा रिहा भएका थिए ।
बिचौलिया झा भने अनुसन्धानकै क्रममा भागेर भारत पुगेका थिए । शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले यस प्रकरणमा ‘बेचन झाबाट थप विषय खुल्ने’ बयान दिएपछि उनलाई प्रहरीले उच्च निगरानीमा राखेको थियो । झाले शरणार्थी प्रकरणको अपराधमा बिचौलिया बनेबापत प्रतिवादी रामशरण केसीबाट २ करोड रुपैयाँको चेक लिएको खुलेको थियो । बिचौलिया भूमिकामै रहेका केसी र बिचौलियाको योजनाअनुसार सरकारबाट निर्णय गराउने भूमिकामा देखिएका सचिव पाण्डेको बयानपछि झा प्रहरीको निगरानीमा परेका थिए ।
सुरुको अनुसन्धानमा प्रहरीले ‘पछि पक्राउ परेका बखत कानुनअनुसार हुने गरी’ भन्दै झालाई फरार सूचीमै राखिएकामा उनी २०८१ असार १३ मा कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ परेका थिए । त्यसपछि काठमाडौं प्रहरीमार्फत अनुसन्धान अघि बढाइएकामा आफूविरुद्ध लागेका आरोपको झाले इन्कार गरेका छन् । झाले आफूलाई जानकारी नभएको भन्दै अनुसन्धानमा असहयोग गरेका थिए । त्यतिमात्र होइन, झाले बयानका लागि पोलिग्राफ टेस्ट गराउन पनि इन्कार गरेको काठमाडौं प्रहरीले जनाएको छ ।
‘प्रतिवादी झाले गरेको कसुरबाट बच्न सकिन्छ कि भनी भुटानी शरणार्थीको विषयमा आफूलाई कुनै पनि कुराहरू जानकारी छैन र रामशरण केसीबाट २ करोडको चेक लिएको छैन भनी झूटा व्यहोराको बयान गरेको स्पष्ट रूपमा देखिएको हुँदा प्रतिवादी झाले आफू व्यापार व्यवसाय गर्दै सोही व्यवसायको आडमा राजनीतिक उच्च निकायका मानिसहरू टोपबहादुर रायमाझी, टेकनाथ रिजाल, इन्द्रजित राईसमेत र उच्च तहका सरकारी कर्मचारी टेकनारायण पाण्डेसमेतसँग सम्पर्क र समन्वय गरी मिसिल संलग्न रहेको भनी २०८० जेठ १० गतेको अभियोगपत्रसमेतको प्रतिलिपिमा उल्लिखित जाहेरवालाहरू तथा निजहरूका आफन्तहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिनका लागि प्रमुख भूमिका खेलेको भन्ने कुरा प्रस्ट देखिन आएको छ,’ जिल्ला अदालत काठमाडौंमा झाविरुद्ध दायर अभियोगपत्रमा भनिएको छ ।
प्रतिवादी झा वारदात (घटना) मा प्रत्यक्ष रूपमा संलग्न रहेको र वारदातमा संलग्न रहेका प्रतिवादीहरू टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, टेकनाथ रिजालसमेत पक्राउ परेपश्चात् आफू पक्राउ पर्ने डरले भारतमा गई लुकिछिपी बसेको अभियोगपत्रमा उल्लेख छ । तत्काल आफूले चलाउने मोबाइलमा नेपालीहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्ने विषयसँग सम्बन्धित कुराहरू तथा कागजातहरू फेला पर्ने डरले ९८५१०…२२ नम्बरको मोबाइल सिमसमेत नचलाई प्रयोग गरेको अभियोगपत्रमा उल्लेख छ । मोबाइल सेटसमेत हाल प्रयोग नगरी नयाँ सेट प्रयोग गर्दै आएबाट निज प्रतिवादीले संगठित समूहसँग मिलेर अमेरिकालगायत तेस्रो मुलुक पठाइदिने भनी पन्थी कार्यदल (बालकृष्ण पन्थी) को प्रतिवेदन किर्ते गरी आफू अनुकूल प्रयोग गर्ने बनाई किर्ते, ठगी, राज्यविरुद्धको अपराध र संगठित अपराध गरेको पुष्टि भएको अभियोगपत्रमा उल्लेख छ ।
पहिलो चरणको मुद्दा अदालत पुगेको १ वर्षपछि फरार झा असार १३ मा पक्राउ परेका थिए । गत वर्ष नै अनुसन्धानमा खुलेका विषयलाई समेटेर झालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको हो । सन् २०१६ को डिसेम्बर ३१ मै भुटानी शरणार्थी तेस्रो देश पुनःस्थापनाको काम बन्द भए पनि राजनीतिक र प्रशासनिक शक्ति केन्द्रको आडमा गिरोहले ४ सय २९ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने खेल खेलेका थिए । यो खेलको २०७९ जेठमै कान्तिपुरले खुलासा गरेको थियो ।
त्यसको ठीक १ वर्षपछि २०८० जेठ १० मा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वसांसद, बहालवाला सचिव, सुरक्षा सल्लाहकारसहित ३० जनाविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ कसुरमा मुद्दा दायर भएकामा यो मुद्दा अहिले काठमाडौं अदालतमै विचाराधीन छ । यसको टुंगो नलाग्दै अनुसन्धान चरणबाटै भागेका झा पक्राउपछि बुधबार उनीविरुद्ध पनि मुद्दा दायर भएको हो । कान्तिपुर
प्रतिक्रिया दिनुहोस्