समाचार

गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा



काठमाडौँ, १ भदौ । यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ ।

धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । विसं २०३८ मा जिल्लामा विद्युत् सेवा विस्तार भएपनि गोसाइँकुण्डमा पहिलो पटक शुक्रबार विद्युत् लाइन सञ्चालन गरिएको हो । 

नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख सञ्जिप भट्टराईका अनुसार  गणेश गौडा बुद्व मन्दिर र गोसाइँकुण्डमा दुई सय भन्दाबढी बत्ती बालिसकिएको छ । यहाँ बिजुली पुर्याउन सहयोग गर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज विभाग, जिल्ला प्रशासन कार्यालय, नागरिक समाज, गोसाइँकुण्ड गाउँपालिकालगायत सरोकार भएका निकाय तथा स्थानीयले सहयोग गरेका उनले बताए ।

विद्युत् सेवा विस्तार भएसँगै तीर्थ जादाँ लेक लागेका यात्रुलाई शुक्रबारदेखि नै विद्युत्को सहायतबाट अक्सिजन दिन सुरू गरिएको गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घले जनाएको छ । सङ्घबाट खटाएका चिकित्सक टोलीले प्राथमिक उपचार सेवा प्रदान गरिरहेको बताउँदै शुक्रबार साँझसम्म एक सय ५० जना यात्रीलाई अक्सिजन दिइएको सङ्घका व्यवस्थापक प्रकास खत्रीले जानकारी दिए ।

आज बिहान दुई हजार तीर्थयात्रीले सुलाद्री आरोहण गरिरहेका राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । तीर्थयात्रीको उपचारका लागि धुञ्चेको शिवमन्दिर चोकमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । साथै मिनि गोसाइँकुण्ड, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।