काठमाडौँ, ५ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशका केही भू–भागमा बिहानैदेखि भारी वर्षा भइरेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा केही स्थानमा भारी वर्षा भइरहेको हो ।
वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
पर्साको रङ्गापुर, टांडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगंज र आसपास भारी वर्षा भएको छ । मकवानपुरको हात्तीसुडे, भोर्लेनी, रौतहटको चन्द्रपुर, गरुडा, सर्लाहीको मानुसमारा, सिन्धुलीको कुसुमटार, रानीचुरी वर्षामापन केन्द्रहरू र आसपासमा भारी वर्षा भएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
त्यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोेसी, वाग्मती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्