चितवन, १० भदौ । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।
अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेंगु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन् भने एक सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए ।
साउन यता जिल्लाका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा दुई सय ३६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । यस्तै, भरतपुर महानगरपालिकामा एक सय सात, खैरहनीमा ११, रत्ननगरमा ४९, माडीमा तीन, राप्तीमा तीन र कालिका नगरपालिकामा आठ जनामा सङ्क्रमण देखिएको केसीले जानकारी दिए । उनका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये दुई सय २५ महिला र एक सय ९२ जना पुरुष छन् ।
प्रतिक्रिया दिनुहोस्