काठमाडौँ, १३ भदौ । दुईवटा वाइडबडी र एउटा न्यारोबडी ‘ग्राउन्डेड’ हुँदा नेपाल वायुसेवा निगमले दैनिक कम्तीमा पाँच करोड रुपैयाँ बराबरको व्यापार गुमाउन थालेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि चारवटा विमान रहेकामा वाइडबडी ‘अन्नपूर्ण’ विस्तृत मर्मत (सी–चेक) का लागि दुई महिनादेखि इटालीको नेपल्समा छ ।
अर्को वाइडबडी ‘मकालु’ पनि ‘सी–चेक’ मा पठाउनुपर्ने भएकाले बुधबार रातिदेखि नियमित उडानमा छैन । न्यारोबडी ‘सगरमाथा’ ले ‘हाइड्रोलिक’ प्रणालीमा समस्या भएर शनिबार रातिदेखि नै उडान भर्न सकेको छैन ।
निगमको मार्केटिङ विभागका अनुसार एउटा न्यारोबडीले दिनमा करिब एक करोड र दुईवटा वाइडबडीले चार करोडको कारोबार गर्दै आएका थिए । तीन वटा विमान ‘ग्राउन्डेड’ भएपछि सबैभन्दा नाफा हुने जापानको नारिता रुटमा मात्रै सातामा १८ करोडको नोक्सानी हुने भएको छ । यस रुटमा निगमको वाइडबडीले कार्गोबाट पनि मनग्य आम्दानी गर्दै आएको छ । ‘एउटा उडानमा कार्गोबाट हुने न्यूनतम १०/२० लाखलाई समेत हिसाब गर्दा नारिता उडान बन्दका कारण निगमले सातामा १९ करोडसम्मको आम्दानी गुमाउँछ,’ मार्केटिङ विभागका ती अधिकारीले भने ।
काठमाडौं–नारिता–काठमाडौं रुटमा निगमले सातामा तीन वटा उडान गर्दै आएको थियो । यस रुटमा एकतर्फी भाडा १ लाख २० हजार रुपैयाँ छ । चाडपर्व नजिकिँदै गर्दा निगमले एकतर्फी २ सय ५० यात्रु उडाउँदा पनि ३ करोडसम्मको व्यापार हुन्छ । ‘चाडपर्व नजिकिँदै गर्दा २ सय ७४ सिटको एउटा वाइडबडीमा दुईतर्फी ५ सय यात्रु हुन्छन्,’ निगमका एक वरिष्ठ निर्देशकले भने, ‘यो हिसाबअनुसार सातामा तीन उडान बन्द हुँदा यात्रुबाट आउने १८ करोड हाराहारी रकम गुम्छ ।’
निगमले वाइडबडी ‘अन्नपूर्ण’ ‘सी–चेक’का लागि असार ९ मा नेपल्स पठाएको थियो । विमान मर्मतमा संलग्न एमआरओ (एजेन्ट) कम्पनीले ३० दिनमै जहाजको ‘सी–चेक’ सकेर फर्काउने सम्झौतापत्रमा उल्लेख छ । तर उक्त वाइडबडी कहिले फिर्ता आउँछ भन्ने अझै निश्चित नभएको निगमका एक इन्जिनियरले बताए । उनका अनुसार एलसीमार्फत मर्मतको पहिलो किस्ता पठाउन निगमले ढिलाइ गरेका कारण वाइडबडी ‘अन्नपूर्ण’ ३७ दिनसम्म एमआरओको पार्किङमै थन्किएको थियो ।
अर्को वाइडबडी ‘मकालु’ पनि ‘सी–चेक’ कै लागि बुधबार राति दुबई हुँदै इटाली पठाइएको छ । यस विमानको ‘सि–चेक’ साउन ९ मै गर्नुपर्ने थियो । प्रधानमन्त्री कार्यालयको निर्देशनपछि नागरिक उड्डयन प्राधिकरणको नियमनकारी निकाय फलाइट सेफ्टी स्ट्यान्डडर््स विभागले वाइडबडी ‘मकालु’ लाई व्यावसायिक उडानका लागि ३ सय घन्टा समय थपिदिएको थियो । थपिएको समयमा त्यसले जापानको नारिता रुटमा मात्रै उडान गरेको थियो । पछिल्ला दिन जापानका लागि हुने दुई वटा उडान गाभ्ने गरिएको थियो । सम्झौताअनुसार वाइडबडी ‘मकालु’लाई एमआरओ कम्पनीले ३० दिनमै फिर्ता पठाउनुपर्ने छ ।
न्यारोबडी ‘सगरमाथा’ ले ‘हाइड्रोलिक’ प्रणालीमा समस्या आएका कारण शनिबार मध्यरातिदेखि उडान भरेको छैन । त्यसलाई मर्मतपछि मंगलबार हङकङ उडानका लागि राखिएको थियो तर मर्मतमा लापरबाही गरेको खुलेपछि उडान रद्द गरियो । अब अन्तर्राष्ट्रिय उडानमा निगमको न्यारोबडी ‘लुम्बिनी’ मात्र छ । नारिता, क्वालालम्पुर, बैंकक, हङकङ, बैंग्लुरु, मुम्बई, दिल्ली, दोहा, दुबई र दमाममा हुने उडान त्यही न्यारोबडीबाट गराउनुपर्ने बाध्यता छ ।
जगेडा जहाज नहुँदा कतिपय उडान रद्द गर्नुपर्ने अवस्था आएको छ । विमानस्थलस्थित निगमको कार्यालयका अनुसार बुधबार राति १०ः२५ को काठमाडौं–दमाम उडान रद्द भएको छ । यो उडान रद्द हुँदा दुवैतर्फ ३ सय यात्रु अलपत्र परेका छन् । ‘आजको दमाम उडानलाई बिहीबार बिहान १०ः३० का लागि सारिएको छ,’ मार्केटिङ विभागका अधिकारीले भने, ‘काठमाडौं र दमाममा रोकिएका यात्रुलाई होटलमा राख्ने व्यवस्था गरिएको छ । विमानस्थल आइनसकेकालाई फोन गरेर भोलि बोलाएका छौं ।’ कान्तिपुर
प्रतिक्रिया दिनुहोस्