राजनीति

गण्डकीमा नौ मन्त्रालय बनाउने सहमति




कास्की, १३ भदौ । सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ ।

गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको हालको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ । नयाँ सत्तासमीकरणअनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको संख्या बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । “कांग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय लिने सहमति भएको छ,” उनले भने, “आगामी आइतबारसम्ममा मन्त्रालयको बाँडफाँट टुंग्याएर मन्त्रीहरूको शपथ गराउने तयारी भइरहेको छ ।”


कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा अझै सहमति हुनसकेको छैन । मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई समेत समेटेर सरकार पुनर्गठन गर्ने कांग्रेसले जनाएको छ ।