समाचार

दुर्घटनामा दुईजनाको मृत्यु



काठमाडौँ, १७ भदौ । काभ्रेमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गएराति उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार आइतबार करेन्ट लागेर घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको हो । 

पनौती नगरपालिका–६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो ढलान गर्ने क्रममा करेन्ट लागेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ का २० वर्षीय सविन चौधरीको मत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते चौधरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
यस्तै, बनेपा–पनौती सडकखण्डअन्तर्गत पनौती नपा–५ ढलमलेमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलत्रात्रु ६३ वर्षीय काजीबहादुर गुरुङको मृत्यु भएको हो । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश३–०२–०१३प ०७५१ नम्बरको मोटरसाइकलले गुरुङलाई ठक्कर दिँदा टाउको र बायाँ खुट्टामा चोट लागेको थियो । उनको उपचारका लागि काठमाडौँको नर्भिक अस्पताल लगिएकामा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।