राजनीति

एसियाली मुलुकका निर्वाचन निकायको साझा मञ्चले भेट्यो राष्ट्रपतिलाई



काठमाडौँ, २० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२ औँ सम्मेलनमा सहभागिता हुन नेपाल आएका मञ्चका सदस्य मुलुकहरूका प्रमुख निर्वाचन आयुक्तहरूले शीष्टाचार भेट गरेका छन् । 

भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने स्पष्ट पारे । उनले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने पनि बताए । 

राष्ट्रपति पौडेलले यो सम्मेलनले दक्षिण एसियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना पनि दिए । उनले भने–‘समग्र दक्षिण एसिया क्षेत्रमा स्वच्छ, पारदर्शी र विश्वसनीय निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि यस संस्थामार्फत यहाँहरूको अमूल्य योगदान निरन्तररुपमा रहनेमा म विश्वस्त छु ।’