काठमाडौँ, २४ भदौ । हुम्लाको सिमकोट गाउँपालिका–८ स्याडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले जिल्लाको उच्च पाटन चौँरी खर्कमा पुगेर छ बालबालिकालाई विभिन्न किसिमका खोप लगाएको छ ।
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको टोलीले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियानअन्तर्गत रानीसैनामा रहेका स्याडा गाउँसहित उत्तरी नाम्खा, ताँजकोट र त्यस क्षेत्रमा रहेका बाजुरा जिल्लाका पाँच बालक र एक बालिकालाई खोप लगाएको हो ।
छ महिनादेखि १५ महिना मुनिका ती बालबालिकालाई बिसिजी, डिपीटी, पिसीभी, पोलियो, रोटा, जेइ र एफआइपिभी रुबेला टाइफाइडलगायत रोग विरुद्धको खोप लगाइएको स्याडा स्वास्थ्य चौकीका अहेब राजेश थापाले जानकारी दिए । चार हजार मिटर अग्लो पाटन चौँरी खर्क रानीसैनामै पुगेर बालबालिकाका लागि खोप लगाइएको अहेब थापाले जानकारी दिए । भदौ १७ गतेदेखि २२ गतेसम्म रानीसैनामा खोपसहित स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्