मनोरञ्जन

कलाकार ‘ईकु’ पक्राउ



काठमाडौँ, २६ भदौ । कलाकार भिसामा युरोप पठाउँछु भनी विभिन्न मानिससँग रकम ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको छ । 

सीआईबीका अनुसार उनले नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनी १५ देखि २० लाखसम्म रकम ठगी गर्ने गरेको पाइएको छ । 

सूर्यमानले विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत त्यही अनुसार हुने भन्दै ठगी गर्ने गरेको सीआईबीले जनाएको छ ।

उनले विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ भन्दै पीडितहरूको सम्पर्कबाट बाहिर रहने गरेको प्रहरीले जनाएको छ । उनलाई मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।