काठमाडौँ, २७ भदौ । म्याग्दीको बेनी अस्पतालमा निःशुल्क रूपमा वितरण हुने औषधि अभाव भएको छ ।
सरकारले जिल्ला अस्पतालबाट ९६ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिए पनि बेनी अस्पतालको निःशुल्क औषधि वितरण कक्षमा २५ देखि ३० प्रकारका औषधि मात्र उपलब्ध छन् ।
निःशुल्क वितरण गर्ने औषधि बीमा सेवाबाट पनि नपाउने, अस्पतालको औषधि वितरण कक्षमा पनि नहुनाले समस्या भएको छ । बीमाबाट पाइने केही औषधि भदौ १ देखि सरकारले निःशुल्क वितरण गर्ने भने पनि अस्पतालमा नपठाएकाले दीर्घरोगका बिरामी धेरै प्रभावित भएका छन् ।
अस्पतालको औषधि स्टोर शाखा प्रमुख तथा सूचना अधिकारी वरिष्ठ नर्सिङ अधिकृत खेमकुमारी पन्तले गण्डकी प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले समयमा औषधि नपठाएकाले अभाव भएको बताइन् । “सरकारले निःशुल्क वितरण गर्ने भनेका औषधि हामीले टेन्डर गरेर खरिद गर्न पाइँदैन । प्रदेश सरकारले समयमै औषधि नपठाउँदा समस्या भएको हो”, उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्