काठमाडौँ, २९ भदौ । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व कानुन मन्त्री धनराज गुरुङ र उनकी पूर्वपत्नी जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्था ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको छ ।
सो सहकारी संस्थामा रहेका कर्मचारी र सञ्चालकहरू विरुद्धमा निवेदन दर्ता गरेर प्रारम्भिक अनुसन्धान अघि बढाएको सीआईवीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । धनराज गुरुङको संलग्नता छ कि छैन भन्ने विषय अनुसन्धानका क्रममा थाहा हुने र अहिलेसम्म धनराज गुरुङको बारेमा उजुरी नपरेको सीआईवी प्रवक्ता बोगटीले बताए ।
सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउनमा उजुरी गरेका थिए । ठगी आरोपित मुख्य व्यक्ति ज्योति गुरुङ सांसद धनराज गुरुङकी श्रीमती हुन् । उनीहरुले सम्बन्ध विच्छेद गरेको दाबी गरे पनि श्रीमतीको नाममा रहेको ऋण धनराजले तिर्दै आएको अध्यक्ष कुम्भराजले बताएका छन् ।
सांसद गुरुङ सहकारी ठगीमा मुछिएपछि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पनि मितेरी सहकारीको स्थलगत निरीक्षण गरेको छ । समितिलाई संस्थाका अध्यक्ष कुम्भराजले धनराज गुरुङले आफ्नो ठगी लुकाउन कागजी सम्बन्ध विच्छेद गरेको, १ महिना अघिसम्म पनि श्रीमतीले लिएको ऋणको किस्ता तिर्न आएको कुरा सूर्य थापासहित समितिका सदस्यहरूलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्