समाचार

गोलभेँडामा भेटियो अत्यधिक विषादी



काठमाडौँ, २९ भदौ । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित हाट बजारमा बिक्री गर्न ल्याइएको गोलभेँडा (टमाटर)मा अत्यधिक विषादीको मात्रा भेटिएको छ ।

तरकारी हाट बजारमा रहेको विषादीको अवशेष द्रुत विश्लेषण एकाइले गोलभेँडामा गरेको परीक्षणका क्रममा अत्यधिक विषादीको मात्रा भेटिएको हो ।

विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरि हाट बजारमा ल्याइएको गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको हो । 

हाट बजारमा ल्याइएको सो गोलभेँडा प्रयोगशालामा परीक्षण गर्दा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको विषादी अवशेष द्रुत विश्लेषण एकाइका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बताए ।  

परीक्षणका क्रममा अत्यधिक विषादी भेटिएको उक्त गोलभेँडा खान अयोग्य भएकाले एक क्विन्टल गोलभेँडा नष्ट गरिएको उनले जानकारी दिए ।