काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल भइरहेको बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेको उल्लेख गर्दै यसप्रति सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले लेखेका छन्, “हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं । जाजरकोटका अबिन बिके लेख्नुहुन्छ– ‘अहिले म दैनिक रुपमा सय/पचास रुपैयाँका कारोबार दिनमा ५/६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०/७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा मेरो दुई हजार देखि २२ सय सम्म खर्च हुन्छ, यो कसरी हटाउने होला !’
साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।”
प्रतिक्रिया दिनुहोस्