काठमाडौँ, २ असोज । महिला तथा बालवालिका वेचविखन विरुद्ध सहकर्मी समूह–नेपाल (एटविन)ले मानव बेचविखन विरुद्धका घटनामा आधारित समाचार एवं लेख रचनाहरुको अध्ययनले मानव बेचविखनको घटनामा वृद्धि भइरहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
एटविनद्वारा राजधानीमा आयोजित कार्यक्रममा वि.स. २०८० सालमा मानववेचखिन तथा ओसारपसारका घटनामा आधारित समाचार ५६२ वटा विभिन्न छापा तथा अनलाइनमा प्रकासित भएको अध्ययनले देखाएको छ । वि.स. २०७९ मा सोही प्रकारका समाचार, लेख÷रचना २८६ वटा प्रकाशित भएका थिए ।
वि.स. २०७९ मा भन्दा गत वर्ष मानव बेचविखन तथा ओसारपसारका समाचारहरु २७६ वटा बढि आएका छन् । एटविनले निर्धारित गरेको विभिन्न १६ वटा सुचकको आधारमा गोरखापत्र, कान्तिपुर दैनिक, नयाँ पत्रिका, अन्नपूर्ण पोष्ट, राजधानीलगायतका पत्रिकाहरु र अनलाईन खबर, रातो पाटी र सेतो पाटीमा प्रकाशित समाचारको अध्ययन गरिएको थियो ।
कार्यक्रममा सञ्चारकर्मी विजय पौडेलले वि.स.२०७९ मा प्रकाशित मानव बेचविखनका समाचारको अध्ययन गर्नुभएको थियो भने सञ्चारकर्मी रुपा शर्मा “नेहा”ले वि.स. २०८० सालमा प्रकाशित समाचार, लेख रचना र सम्पादकीयहरुको अध्ययन गर्नुभएको थियो ।
सञ्चारकर्मी विजय पौडेलले अध्ययनमा ७१ प्रतिसत मधेसी मानव बेचविखनको प्रभावमा परेको देखिएको बताउँदै पहिले मानव बेचविखन यौन शोषणको लागि मात्र हुन्छन् र हिमाली तथा पहाडी क्षेत्रबाट हुन्छ भन्ने भ्रम हटेको बताउनुभयो । उहाँले समय अनुसार मानव बेचविखनमा संलग्न दलालहरुले रोजगारीको नाममा मधेसमा बसोबास गर्नेलाई पनि लक्ष्यित गरिरहेको र बालबालिकादेखि ५० वर्ष उमेर समुहका व्यक्तिलाई पनि छलकपटमा पार्न सफल भएको विचार व्यक्त गर्नुभयो ।
सञ्चारकर्मी पौडेलले भिजिट भिसाको गलत प्रयोग बढीरहेको तथ्याङ्ककै आधारमा विमानस्थलमा कडाई गर्दा विदेश घुम्न चाहने आममानिसको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकारमाथि निक्कै कडाई भइरहेको बताउनुभयो । त्यसैगरी पछिल्लो समय भूटानी शरणार्थी बनेर नेपाली अमेरिका पुगेको घटनाले करिब सातहजार भूटानी शरणार्थीक प्रभावित भएको पनि जानकारी दिनुभयो । एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुङले एटविनले २०७९ र ८० सालमा विभिन्न छापा माध्यम, अनलाईनमा प्रकाशित समाचार, सम्पादकीय तथा लेखहरुको विषयलाई केन्द्र बनाएर गरिएको अध्ययनले मानव बेचविखनको न्युनिकरणमा चुनौति बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
सो अवसरमा संस्थाका उपाध्यक्ष चरिमाया तामाङले मानव वेचविखनको समस्याको दायरा हाल झनै फराकिलो बन्दै गएको बताउदै नेपाली जत्ति सचेत हुदैछन्, चाहना र आवश्यकता पनि बढेकोले अनेक बहानामा मानव तस्करको चङ्गुलमा पर्ने क्रम नरोकिएको बताउनुभयो । संस्थाका वरिष्ठ सल्लाहकार सञ्चारकर्मी टङ्कले पन्तले मानव बेचबिखन तथा ओसारपसार एवम् मानव तस्करीका आयामहरुमा तिब्र परिवर्तन भइरहेको छ, त्यसमध्ये भिजिट भिसा पनि विशेष कारणको रुपमा देखिएको बताउनुभयो ।
अध्ययनले नेपाली नागरिक छाला, मृर्गौलालगायतका अङ्ग झिक्न, श्रम तथा यौन शोषण गर्न, बन्धक बनाएर प्रविधीको उपयोग गरी ठगि गर्नलगायत थुप्रै प्रयोजनका लागि मानव तस्करले विभिन्न देशमा पु¥याइरहेको भेटिएको एटविनले जनाएको छ । भने यसलाई रोक्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरु मिलेर प्रभावकारी संयन्त्र तथा कडा नीति बनाउनुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।
नागरिक पनि सचेत तथा जागरुक हुनु अत्ति जरुरी छ । यस प्रकारको अपराधबाट पीडित भएका नागरिकले राज्य संयन्त्रको सहयोगमा पीडकलाई सजाय दिने÷दिलाउने काममा दृढ सक्रिय हुनुपर्छ साथै अन्य नागरिकले पनि यस विरुद्ध सचेतना फैलाउने तथा अपराधीलाई सामाजिक रुपले बहिस्कार गर्नुको साथै पीडितलाई सहानुभूति दिई संरक्षण गर्नुपर्ने अध्ययनको निष्कर्ष रहेको छ । एटविनका महासचिव सुमित्रा अधिकारीले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने देशभरका ४० वटा सङ्घ संस्था आवद्ध एटविनको प्रमुख उद्देश्य मानव बेचविखनको अन्त्य नै हो, भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्