राजनीति

मन्त्री खड्काद्वारा सुनसरी-मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन



काठमाडौँ, ६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।

आज सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पुर्‍याउन निर्देशन दिएका हुन् ।

उनले भने, “कृषिप्रधान देशमा सिँचाइको अभाव हुनुहुँदैन, बिग्रेका उपकरण यथाशीघ्र मर्मतसम्भार गरेर किसानको खेतबारीमा सिँचाइ पुर्‍याउनुहोस्,” ।

मन्त्री खड्काले आजै कोसी नदीबाट सुनसरी र मोरङ जिल्लामा सिँचाइ लैजान प्रयोग गरिएको ‘डेज्रिङ पद्धती’को अनुगमन गरेका थिए । उक्त उपकरणको लम्बाइ ९६० मिटर, चौडाइ ८० मिटर र गहिराइ १० मिटर रहेको छ । सो उपकरणले इन्टेकबाट मूल नहरमा छिरेको बालुवा तथा ग्रेगानलाई झिक्ने काम गर्ने सिँचाइ आयोजना कार्यालयले जनाएको छ । विसं २०५२ मा निर्माण भएको दुईवटा उपकरणमध्ये हाल एउटा मात्र सञ्चालनमा छ ।